पुरानो घडीको मूल्य


दिपक बाला

एकपटकको कुरा हो। एउटा गाउँमा रामप्रसाद नामका एक वृद्ध व्यक्ति बस्थे। उनी धेरै वर्षदेखि मेहनती र इमानदार मानिसका रूपमा चिनिन्थे। उनको अब अन्तिम समय नजिकिँदै थियो। एक दिन उनले आफ्नो छोरा सुरेशलाई बोलाए र भने, “बाबु सुरेश, यो तिम्रो हजुरबाले मलाई दिनुभएको १०० वर्ष पुरानो घडी हो। म अब यो तिमीलाई दिन चाहन्छु। तर त्यसअघि, एक काम गर—यसलाई लिएर बजारका पसलहरूमा जाऊ र सोध, ‘म यो घडी बेच्न चाहन्छु, कति मूल्य आउँछ?’ भनेर।”
सुरेशले बाबुको कुरा मान्यो। ऊ घडी लिएर नजिकको घडी पसलमा गयो। पसलेले घडी हेरेर भन्यो, “यो त पुरानो भयो, म तिमीलाई पाँच सय रुपैयाँसम्म दिन सक्छु।”
सुरेश फर्किएर बाबु कहाँ आयो र भन्यो, “बाबु, पसलेहरूले त पाँच सय रुपैयाँसम्म मात्रै दिने भने।”
रामप्रसाद मुस्कुराए र भने, “अब यो घडी लिएर कफी पसलहरूमा जा, अनि सोध।”
सुरेश कफी पसलमा गयो। त्यहाँका मानिसहरूले हाँस्दै भने, “पुरानो घडी! यसले के काम गर्छ र? दुई सय रुपैयाँसम्म दिन सक्छौँ।”
सुरेश फेरि बाबुकहाँ आयो र भन्यो, “बाबु, त्यहाँ त झनै कम मूल्य दिए।”
रामप्रसादले विस्तारै भने, “अब अन्तिमपटक, यो घडी संग्रहालयमा लिएर जा र सोध।”
सुरेश संग्रहालयमा पुग्यो। त्यहाँका विशेषज्ञहरूले घडी ध्यानपूर्वक हेरे र उत्साहित हुँदै भने, “यो त दुर्लभ र ऐतिहासिक घडी हो! यसको मूल्य त कम्तीमा दश लाख रुपैयाँ पर्छ।”
सुरेश अचम्ममा पर्यो र हर्षले बाबुकहाँ फर्कियो। “बाबु! संग्रहालयले त दश लाख रुपैयाँसम्म दिन्छु भने!”
त्यो सुनेर रामप्रसादको आँखामा स्नेहका आँसु झल्किए। उनले मुस्कुराउँदै भने, “बाबु, यही कुरा त म तिमीलाई सिकाउन चाहन्थें।
सही ठाउँमा मात्र मानिसको सही मूल्य पाइन्छ। गलत ठाउँमा गएर आफूलाई सस्तो ठान्न कहिल्यै नदेऊ।
जसले तिम्रो मूल्य बुझ्दछ, तिनले नै तिम्रो कदर गर्छन्। त्यो ठाउँ र ती मानिसहरू खोज जसले तिम्रो असली महत्त्व बुझून्।”
सुरेशले बाबुको त्यो वचन मनमा गहिरो गरी बसायो। त्यो दिनदेखि उसले कहिल्यै गलत ठाउँमा आफ्नो मूल्य खोजेन।