
लता के.सी.
तीनकुने, काठमाडौँ
“जताततै कोलाहल, अशान्त, बैमन्यता र अध्याँरोले बास गरेको यो देशमा त के बस्नु खै ?” आशाले आमासमक्ष मनभित्रको व्यथा पोखी।
छोरीका कुरा सुनेर आमा निरास भइन्। दिक्क मान्दै भनिन्, “साथमा भएकी एउटी छोरीले पनि विदेश ताकेपछि म बुढीको के हालत होला त ? न जा छोरी , यतै जे जसो होला ?”
उसले तर्क गरी, “आमालाई एक्लै छोडेर जान त मेरो मन नि कहाँ मान्छ र ? तर पनि समय र अवस्था हेर्दै कति रोएर बस्नु ? मेरो सिँङ्गो जीवनको सवाल छ ।”
उनी शब्दहीन भइन् । खुइ…. य गर्दै आराम गर्न कोठातिर लाग्दै थिइन् , पाँच वर्षदेखि जापानमा बसेको छोराको फोन आयो । आमाछोराले दुख सुखका बातचित गर्दै थिए । आशाले फोन खोसेर दाजुसमक्ष भनी ,”म पनि अस्ट्रेलिया जान्छु दाजु !”
उसले बहिनीलाई सम्झायो, “म पनि यहाँ सुखी कहाँ छु र ? बुबाको मृत्यपछि तिमीहरूको खुसहाल जीवनको लागि दुःख गरिरहेको छु । एक्लै आमालाई हामी दुबै सन्तानले छाड्नु हुँदैन । अर्काको देश , बाँच्न गाह्रो छ बहिनी ! विदेश उडने विचार नगर् ।”
बहिनीले आक्रोस पोखी, “म बिहे गरेर गएँ भने आमालाई कसले हेर्छ नि ?”
दाजुले हाँस्दै भन्यो, “पीर नगर बहिनी ! उज्याँलोको पर्व तिहार भित्रिदै छ । यो तिहारले हाम्रो जीवनमा पनि अवश्य उज्यालो ल्याउँनेछ ।”
दाजुको फोनमा अचानक भाउजूको स्वर सुनियो,”हामी पनि यो तिहारमा सधैँका लागि आफ्नै मातृभूमि फर्किदै छौँ, नानी !”





